NPPF Australia
नेपाली जनता र नेपालको राजनीतिक आन्दोलनले सामन्ती निरंकुशतन्त्र र त्यसले ल्याएका विसंगतिहरूविरुद्ध संघर्ष गर्यो। ऐतिहासिक संविधानसभाबाट संविधान जारी गर्दै लोकतन्त्र, जनतन्त्र, र जनवादको स्थापनाका महत्वपूर्ण उपलब्धिहरू संस्थागत भएका छन्। यो परिवर्तन ल्याउन जीवन उत्सर्ग गर्ने महान सहिदहरू, बेपत्ता योद्धाहरू, र घाइते योद्धाहरूलाई श्रद्धाञ्जली अर्पण गर्दै, संघर्षमा सहभागी जनसमुदायलाई कृतज्ञतासहित अभिनन्दन गर्दछौं। नेपाली जनप्रगतिशील मञ्च अष्ट्रेलिया महान सहिदहरूको सपना पूरा गर्न दृढसंकल्पित छ।
प्रवासी नेपालीहरूलाई न्याय, समानता, स्वतन्त्रता, संघीय लोकतन्त्र, राष्ट्रियता, तथा हकहितको लागि संगठित र क्रियाशील बनाउन मञ्च गठन गरिएको छ। देशभक्ति र एकताको भावना जागृत गर्दै, प्रवासी नेपालीहरूको हकहितको रक्षा गर्ने, र समस्याहरू समाधान गर्न समर्पित रहनेछ।
नेपाल र अष्ट्रेलियाको संविधानले आत्मसात गरेको आधारभूत मान्यतालाई पालना गर्दै, नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाभिमान र हितको रक्षा गर्ने प्रतिबद्धता अनुरुप कार्य गर्नेछौं। शान्ति, समृद्धि र समानता हाम्रो आधारभूत प्रतिबद्धता हो।
संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्दै, जनतालाई विकास, सुशासन, र समृद्धिको नयाँ युगतर्फ लैजाने योगदान पुर्याउने उद्देश्यले, मञ्चले प्रवासमा पनि आस्था, विचार र विश्वासलाई कायम राख्दै सहकार्य गर्नेछ।
नेपाली जनप्रगतिशील मञ्च, अष्ट्रेलिया प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्दै नेपालको संघीय लोकतान्त्रिक गणतन्त्र र जनजीविकाका सवालमा न्यायपूर्ण आन्दोलनमा समर्थन जनाउनेछ। अष्ट्रेलियामा रहेका प्रवासी नेपालीहरूको आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक तथा मानवीय विकासको लागि योजना बनाएर कार्यान्वयन गर्नेछ।
नेपाल र नेपालीको राष्ट्रियता, सार्वभौमिकता, भौगोलिक अखण्डता, संघीय गणतन्त्र र अधिकारको रक्षा गर्दै, समतामूलक समाजको निर्माण, मौलिक कला, संस्कृति, पर्यटन तथा साहित्यको जगेर्ना गर्नेछौं। प्रवासी नेपालीहरूबीच सुमधुर सम्बन्ध कायम गर्न, वैदेशिक रोजगारीमा अनियमितता र ठगीविरुद्ध जनचेतना जगाउँदै कानुनी पहल गर्नेछौं।
प्रवासी नेपालीहरूको सहयोगमा समृद्ध र शान्त नेपाल निर्माणको लागि मञ्च समर्पित छ।
